काठमाडौं – नेपाल कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीले चुनावी परिणामको चिन्ता नगरी चुनाव सफल पार्न लागिपरेको बताएका छन् । बिहीबार कर्णालीको सुर्खेतमा आयोजित प्रदेशीस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि देशलाई स्थिरतामा राख्नका निम्ति चुनाव अनिवार्य सर्त भएको बताए ।
‘यो भन्दा अर्को विकल्प थिएन र अहिले छैन । त्यस कारणले गर्दा डे वानबाट पहिलो दिनबाटै चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरीकन, चुनावको परिणामको चिन्ता नगरीकन चुनावलाई सफल बनाउनका निम्ति कांग्रेस लागेको छ,’ उनले भने, ‘चुनावको सन्दर्भमा हामीले भदौ २३ र २४ लाई बिर्सिएर हुँदैन ।’
फागुन २१ को चुनाव आउन केही दिनमात्रै बाँकी र यो चुनाव यसरी आउँछ कल्पना पनि नगरेको उनले बताए । ‘यसमा दुईवटा प्रवृत्ति छ । एउटा इन्कार गर्छ । र, भन्छ– भदौ २३ गते र २३ गतेअगाडि देश ठिकठाक थियो । सब ठिकठाक छ सबले दूधभत खाएका थिए । केही बिग्रेको छैन,’ उनले भने, ‘अर्को प्रवृत्ति छ, बोल्दैन, भन्दैन । तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो । नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ ।’
थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताए । ‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एकजना मानिस पनि बच्दैन’, उनले भने, ‘पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दैछु । एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले ग¥यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’
थापाले कर्णाली विकासमा पछि पर्नुको अवस्था, विकासका सम्भावना र राज्यले गर्नुपर्ने लगानीका विषयमा आफ्ना धारणा राखे । उनले अहिले चटकका भरमा देश पाँच वर्ष चलाउने भन्दै घृणा र आक्रोश सडकमा पोख्नेको बिगबिगी भएको भन्दै त्यस्ता कोलाहल चिर्न कांग्रेस नेता कार्यकर्ता मतदाताको घरघरमा गएर बुझाउनुपर्ने बताए । उनले पाँच वर्ष कसरी देश चलाउने भन्ने आफ्नो भिजनबारे पनि जानकारी गराएका थिए ।












प्रतिक्रिया