काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले शुक्रबार पोखरामा आमसभाको आयोजना गरेको छ ।
पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने उनले बताए ।
आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए ।
कांग्रेसले आज बुटवलमा आयोजना गर्ने लुम्बिनी प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गरेपछि सभापति थापा पोखरा जाने भएका छन् । आजै उनी बागलुङ पुगेर चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम छ । कांग्रेसले शनिबार काठमाडौंमा बागमती प्रदेशस्तरीय चुनावी सभा आयोजना गर्दैछ । सभापति थापाले बिहीबार कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।












प्रतिक्रिया