दुर्गा प्रसाई निर्वाचनको बाधक भन्दै फेरि समातिए


काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
प्रसाईको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो ।

उनलाई पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि भन्ने ब्यहोरा उल्लेख छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।


प्रसाई १३ फागुनमा मात्र रिहा भएका थिए । उनलाई गैर कानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।

आफ्ना माग पूरा नभएको भन्दै प्रसाई समूहले निर्वाचन बिथोल्न अनिश्चितकालीन बन्दको तयारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईं फागुन ४ गते राति भक्तपुरस्थित निजी निवासबाटै पक्राउ परेका थिए । उनी पछिल्लो एक महिनाभित्र दुई पटक समातिएर रिहा भएका हुन् ।

राजसंस्था पुनःस्थापनाको मागसहित निर्वाचन बहिष्कार गर्दै आएका प्रसाईं समूहले पछिल्लो समय मुलुकमा वाह्य शक्ति हाबी भएको र अमेरिकी सेना नेपाल आइसकेको दाबी गरेका थिए ।