काठमाडौं – नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं १० मा कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।
दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कबिर राणालाई चुनावी मैदानमा उतारेको छ ।
युवा नेता कबिर शर्मालाई उम्मेदवार बनाएको काठमाडौं २ को पेप्सीकोला टाउन प्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् ।
युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने तालिका छ ।
दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं ६ मा जिल्ला सभापति सबुज बानिया उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।
दिउँसो ४ बजे काठमाडौं ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति थापाले सम्बोधन गर्ने तालिका छ । काठमाडौं ४ मा कांग्रेसले युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ । काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्नुपर्ने भएकाले सभापति थापाले शनिबार मध्यरातिसम्म पर्सा, बारा, रौतहटमा कोण सभालाई सम्बोधन गरेका थिए ।












प्रतिक्रिया