काठमाडौं । केपी शर्मा ओलीले चुनावी पराजयपछि पहिलोपटक सार्वजनिक वक्तव्य जारी गर्दै जनताको फैसला शिरोधार्य गर्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले यसपटक आफू र समग्र पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसके पनि जनताको फैसला शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य रहेको बताएका हुन् । अहिले एमालेभित्रैबाट ओलीको राजीनामाको बहस चलिरहेको छ । तर ओलीले यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।
दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो । ![]()
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन ।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।












प्रतिक्रिया