केपी ओलीलाई अध्यक्षबाट हटाएरै छाड्ने रणनीतिमा शंकर पोखरेल


काठमाडौं । फागुनको निर्वाचनमा लज्जास्पद हार बेहोरेसँगै एमाले अहिले ठूलो द्वन्द्वमा फसेको छ । नेतादेखि कार्यकर्तासमेत अझै खुल्न सकेका छैनन् । पार्टी पंक्तिमा चरम निरासा छाएको छ । आफ्नो त्यत्रो भोट बैंक रास्वपाले लगेपछि एमालेमा अहिले अध्यक्ष केपी ओलीलाई हटाउने अभियान अघि बढेको छ । तर ओली भने कुनै पनि हालतमा नेतृत्व नछाड्ने मनस्थितिमा छन् । यदि आफू्रले नेतृत्व छाड्नुपरे नेकपासँग एकता गरेर प्रचण्डलाई नेतृत्व स्वीकार्नसमेत उनी तयार देखिएका छन् ।

तर एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल भने ओलीलाई मौजुदा केन्द्रीय समितिको बहुमतबाटै हटाउने अभियानमा लागेका छन् । निर्वाचन परिणाम आउनासाथ गुण्डुमा पुगेर पोखरेलले ओलीलाई नेतृत्वबाट बिदा हुन आग्रह गरेका थिए । लगत्तै उपाध्यक्ष विष्णु पौडेलले दबाब बढाए । आफूनिकट दुवैजनाले सेफ ल्याण्डिङका लागि गरेको आग्रहलाई ओलीले इगोको रूपमा बुझेको नेताहरूको भनाइ छ ।

संसदको पहिलो बैठकमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिलाई आकस्मिक सचिवालय बैठक बसेर गलत ठह¥याएकोमा पनि ओली असन्तुष्ट छन् । ‘जे, जसरी एमाले र नेतृत्वविरुद्ध सबै लागे, तिनको बारेमा बोल्दा किन टाउको दुखाउनुपर्ने ?’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कसको, कसले, कसरी गुलामी गरेको थियो, को, कोसँग कसरी बिकेको थियो भन्ने प्रष्ट भयो ।’

शंकरबाट आफूले यस्तो अपेक्षा नगरेको ओलीले बताउन थालेका छन् । ओलीले भन्ने गरेका छन्, ‘खुब अध्यक्ष हुन्छु भनेर हिँडेको छ, विष्णुको माकुरी जालमा परेपछि थाहा पाउँछ ।’

नेता–कार्यकर्ता मात्र होइन मतदाताले समेत अध्यक्ष ओलीको कार्यशैलीका कारण वाक्क भएको बताउन थालेका छन् । १०९ निर्वाचन क्षेत्रका लागि भएको २०१५ सालको चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले चार ठाउँ जितेको थियो । २०८२ फागुन २१ गते १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले नौ स्थानमा मात्र जित्न सक्यो । यो नतिजा २०१५ सालको भन्दा पनि कमजोर भएको एमाले नेताहरूले नै बताएका छन् । त्यही भएर अहिले ओलीलाई हटाउन लागिएको हो ।

तर ओलीले देशभरबाट १२ सयभन्दा बढी नेताको विवरण संकलन गरिसकेको बुझिएको छ । यी सबैलाई कारवाही गर्ने तयारीमा रहेको र कसरी प्रतिरोध गर्ने भनेर विष्णु पौडेल र शंकर पोखरेलले सोच बनाएको उनले बताए ।