बाबुराम भट्टराईले लगाए सन्तोष परियारमाथि ‘किर्ते र ठगी’ को गम्भीर आरोप


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा विस्फोट भएको छ। पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले सार्वजनिक गरेको परिपत्रलाई आधिकारिक नभएको भन्दै त्यसलाई ‘किर्ते र ठगी’ को संज्ञा दिएका छन्।

यसअघि सन्तोष परियारले पार्टीको वैचारिक दिशा फरक भएको कारण बाबुराम भट्टराई पार्टीबाट अलग भएको उल्लेख गरिएको परिपत्र सार्वजनिक गरेका थिए। उक्त परिपत्र सार्वजनिक भएपछि पार्टीभित्रको विवाद थप चर्किएको हो।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले सार्वजनिक गरिएको पत्र कुनै आधिकारिक संगठनात्मक दस्तावेज नभई एक व्यक्तिको निजी लेखोट मात्र भएको बताएका छन्। उनले उक्त परिपत्रको कुनै वैधानिकता र आधिकारिकता नरहेको स्पष्ट पारेका छन्।

भट्टराईले ११ र १२ वैशाखमा भएको भनिएको भेलासमेत आधिकारिक नभएको दाबी गरेका छन्। साथै, सन्तोष परियारले आफैंलाई एकल अध्यक्ष घोषणा गरेको आरोप पनि लगाएका छन्।

भट्टराईले लेखेका छन्, “एउटा व्यक्तिले आफैंलाई निश्चित अवधि तोकेर एकल अध्यक्ष घोषणा गर्नु र पार्टीको केन्द्रीय कार्यालयमा नगई अँध्यारो कुनाबाट परिपत्र सार्वजनिक गर्नु कानुनअनुसार किर्ते र ठगी मानिन्छ।”

यस घटनाले प्रलोपाभित्रको विवाद सतहमा मात्र नभई गम्भीर राजनीतिक संकटको रूप लिएको संकेत गरेको छ।