काठमाडौं, जेठ १० । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८४१ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा विशेष जाँच सञ्चालन गर्दै उनीहरूलाई कारबाही गरेको हो ।
कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्ती उल्लङ्घन गर्ने १८३, तीव्र गतिमा सवारी चलाउने १२६, लेन मिच्ने ४१, फुटपाथ प्रयोग गर्ने ७५, हर्न निषेध उल्लङ्घन गर्ने १४९, एकतर्फी सडकमा सवारी चलाउने ७७ तथा अन्य विभिन्न कसुरमा ८९१ जना चालक कारबाहीमा परेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबै चालकलाई आग्रह गरेका छन् ।
ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएकाले त्यस्तो गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
















प्रतिक्रिया