खुस्बु ओलीले उजुरी दिएपछि एकजना पक्राउ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

संसदमा उठाएका जनचासोका विषयलाई लिएर सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित आक्रमण भएको उनको भनाइ छ। उजुरीपछि साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिएकी छन्।

सामाजिक सञ्जालमा बलात्कार, ज्यान मार्ने धम्कीदेखि हिंसात्मक अभिव्यक्ति आएको उल्लेख गर्दै ओलीले यस्ता गतिविधिप्रति शून्य सहनशीलता अपनाइने चेतावनी दिएकी छन्।

उनले आलोचना लोकतन्त्रको हिस्सा भए पनि धम्की, घृणायुक्त अभिव्यक्ति, चरित्रहत्या र हिंसाको उक्साहट स्वीकार्य नहुने बताएकी छन्।

उल्लेखनीय छ, गत बुधबार प्रतिनिधिसभा बैठकका क्रममा गृहमन्त्री सुधन गुरुङले खुश्वुसँग भेट गरी धम्की दिनेहरूमाथि कारबाही गरिने आश्वासन दिएका थिए।