दाङको तुलसीपुरमा एक युवतीमाथि खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल अनुसन्धान थालेको थियो। सोही क्रममा मंगलबार राति १०:४० बजे मगरलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउका क्रममा प्रहरीले उनको साथबाट लागुऔषधजन्य ट्याब्लेटहरू समेत बरामद गरेको छ। बरामद गरिएका औषधिमा Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट रहेका छन्।
घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले स्थानीय स्तरमा व्यापक चर्चा र चासोको विषय बनेको छ। प्रहरीले घटनाको वास्तविकता तथा युवतीमाथि भएको कुटपिटको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

















प्रतिक्रिया