विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशप्रेमकै कारण आफू सांसद र मन्त्री बनेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
जवाफका क्रममा उनले पुरानो चर्चित गीत ‘पिरतीले जोगी बनायो’ स्मरण गर्दै आफू पनि देशप्रतिको प्रेमले राजनीतिमा आएको बताए।
‘म सांसद वा मन्त्री बन्ने मान्छे त होइन, तर देशप्रतिको पिरतीले मलाई यहाँसम्म ल्यायो,’ उनले भने।
पुनका अनुसार उनको देशप्रेमको यात्रा गाउँबाट सुरु भएको थियो। अमेरिकाबाट नेपाल घुम्न आएका बेला गाउँसँग माया बसेको र त्यसपछि जिल्ला हुँदै सम्पूर्ण देशप्रति समर्पित भएको उनले बताए।
‘सुरुमा गाउँसँग पिरती बस्यो, त्यसपछि जिल्ला, अन्य जिल्ला हुँदै अन्ततः देशसँग पिरती बस्यो,’ उनले भने।
मन्त्री बनेपछि आफूले जोगी जस्तै अनुभूति गरेको उल्लेख गर्दै पुनले व्यवहारिक रूपमा पनि आफू सरल जीवनशैलीमा रहेको बताए।
‘देशप्रतिको पिरतीले मलाई मन्त्री बनायो। मन्त्री भएपछि म आफूलाई जोगी जस्तै महसूस गर्छु। व्यवहारिक रूपमा पनि म जोगी नै हुँ,’ उनले संसद्मा भने।

















प्रतिक्रिया