रास्वपाको महाधिवेशनमा बालेन, रवि र गगन एउटै मञ्चमा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा सुरु हुँदैछ। दिउँसो १ बजे हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहने भएको छ।

महाधिवेशनका लागि रास्वपा सभापति रवि लामिछाने सहित पार्टीका पदाधिकारी र प्रतिनिधिहरू केही दिनअघिदेखि नै चितवनमा छन्। पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह पनि आइतबार भरतपुर पुगेका छन्।

उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चितवन पुगेका छन्। कांग्रेसले उनको सहभागिताको निर्णय आइतबार मात्रै गरेको थियो।

महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागी हुने कार्यक्रम रहेको छ। नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवाली उपस्थित हुने भएका छन् भने नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन सहभागी हुने जनाइएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्य ले जानकारी दिएका छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनमा सहभागी हुने भएका छन्। तर केही दलले भने शीर्ष नेतृत्व नपठाउने निर्णय गरेका छन्।

रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा बालेन्द्र शाह, रवि लामिछाने र गगनकुमार थापा एउटै मञ्चमा देखिने भएपछि राजनीतिक वृत्तमा यसको विशेष चासोका साथ हेरिएको छ।