रास्वपा महाधिवेशनस्थलमा सुरक्षा जाँच, नेपाली सेनाद्वारा बम डिस्पोजल निरीक्षण


भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि कार्यक्रमस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ।

बन्दसत्र सुरु हुनुअघि टोलीले कार्यक्रमस्थलको हल तथा आसपासका क्षेत्रमा सुरक्षा जाँच गर्दै सम्भावित विस्फोटक पदार्थको खोजतलास गरेको थियो। महाधिवेशनमा सहभागी प्रतिनिधि, नेता तथा अतिथिहरूको सुरक्षालाई ध्यानमा राख्दै नियमित सुरक्षा प्रबन्धअन्तर्गत उक्त जाँच गरिएको सुरक्षा निकायले जनाएको छ।

महाधिवेशनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वयात्मक सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षा जाँचपछि बन्दसत्र सञ्चालनको तयारी अगाडि बढाइएको बताइएको छ।