परिणाम जे आए पनि महामन्त्रीमा भिड्छु : मनिष झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झा ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परिणाम आफ्नो पक्षमा आए वा नआए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुने स्पष्ट पारे।

झाले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, विचारको बहस र लोकतान्त्रिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै महामन्त्री पदमार्फत पार्टी संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन योगदान गर्न चाहेको बताए।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला महामन्त्री पदका आकांक्षी नेताहरूबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ। झाको यो अभिव्यक्तिले महाधिवेशनको चुनावी माहोललाई थप तातेको छ।