काठमाडौं । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक हाइस दैलेखमा दुर्घटनामा परेको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–साङ्गेतडा क्षेत्रमा उक्त गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेर डुबेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार कर्णाली ०३–००१ ख १०५५ नम्बरको हाइस नदीमा डुबेकाले तत्काल उद्धारमा कठिनाइ भएको छ। उद्धार टोली घटनास्थलमा पुगिसकेको भए पनि गाडी नदीबाट बाहिर निकाल्न सकिएको छैन।
प्रहरीका अनुसार गाडीमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। हालसम्म कुनै घाइते वा यात्रुको अवस्था पुष्टि हुन नसकेको र बेपत्ता गाडी तथा यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया