चितवनमा हृदयविदारक घटना : जंगली हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु


काठमाडौं । चितवनमा जंगली हात्तीको आक्रमणमा परेर आमा र उनका ४ वर्षीय छोराको मृत्यु भएको छ। शनिबार राति करिब ११ बजे भरतपुर महानगरपालिका–२३, बेलहट्टास्थित पूर्ण बोटेको घरमा जंगली हात्तीले आक्रमण गरेको थियो। वडा अध्यक्ष दीपक दवाडीका अनुसार हात्तीले घरमा आक्रमण गर्दा सुतिरहेका पूर्ण बोटेका २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार हात्ती धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३ वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिबीच आपत्कालीन छलफल भएको थियो।

छलफलमा जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक कदम चाल्ने, चितवन राष्ट्रिय निकुञ्जमार्फत मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक दीर्घकालीन उपाय अवलम्बन गर्ने सहमति भएको वडा अध्यक्ष दवाडीले जानकारी दिए।