भदौ २३–२४ पछि आफूहरू मारिने अवस्थासम्म पुगेको थियो : प्रचण्ड


काठमाडौं । पुष्पकमल दाहालले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थासम्म पुगेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तत्कालीन परिस्थितिमा आफूहरू गम्भीर जोखिममा रहेको दाबी गर्दै विश्वको भूराजनीतिक अवस्थाका कारण प्रतिक्रियावादी शक्तिहरूको योजनाबाट जोगिन सफल भएको बताए।

‘हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौँ। प्रतिक्रियावादीले चाहेको भए त एकैछिनमा सकिने अवस्था थियो। तर हामी बचियौँ,’ उनले भने।

उनले भदौ २४ पछिका दुई दिन पार्टी कार्यकर्तामाझ नेताहरू जीवित छन् कि छैनन्, पक्राउ परेका हुन् कि मारिइसके भन्ने अन्योलपूर्ण अवस्था रहेको पनि स्मरण गरे।

प्रचण्डका अनुसार भदौ २६ गते भने भदौ २४ मा विध्वंस मच्चाउने पक्षकै नेतृत्वले आफू र माधव कुमार नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएर छलफल गरेको थियो।

‘हामीलाई प्रधानसेनापति र राष्ट्रपतिले बोलाएर सुझाव माग्लान् भन्ने सोचेका पनि थिएनौँ। तर २६ गते राति त्यही भयो। त्यो निकै अनौठो अनुभव थियो,’ उनले भने।