अदालतको फैसलापछि महेश बस्नेतको दाबी– ‘पुराना दललाई बदनाम गर्न काल्पनिक कथा बुनियो’


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नक्कली भुटानी शरणार्थी र टेरामक्स प्रकरणमा हालै भएका अदालती फैसलाले स्थापित राजनीतिक दल र तिनका नेताहरूलाई बदनाम गराउने उद्देश्यले ‘काल्पनिक कथा’ बुनिएको पुष्टि गरेको दाबी गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले टेरामक्स प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विशेष अदालतबाट पाएको सफाइ तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा, सन्दीप रायमाझीसहित सात जनाले काठमाडौं जिल्ला अदालतबाट पाएको सफाइलाई न्यायालयले ‘दूधको दूध, पानीको पानी’ छुट्ट्याएको उदाहरणका रूपमा उल्लेख गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “न्यायालयका यी फैसलाबाट पुराना दल र ती दलका नेतालाई बदनाम गराउन भ्रष्टाचारलगायतका मुद्दामा काल्पनिक कथा बनाइएका थिए भन्ने कुरा स्वतः प्रमाणित हुन्छ। प्रमाणले होइन, अल्गोरिदमबाट बनाइएको मनले भने यस्ता कुरा सहजै लिन समय लाग्नेछ।”

मंगलबार काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापासहित सात जनालाई सफाइ दिएको थियो।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको टेरामक्स खरिद अनियमितता मुद्दामा विशेष अदालतले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहितका प्रतिवादीहरूलाई पनि सफाइ दिएको थियो।