काठमाडौंको धोबीखोलामा हाम फालेकी महिलाको शव फेला


काठमाडौं: काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेकी थिइन्। घटनापछि प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरेको थियो।

खोजीका क्रममा ती महिला बल्खु कुमारी क्लबभन्दा तल खोलामा मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार उनको उमेर करिब ३५ वर्ष रहेको अनुमान गरिएको छ। हालसम्म उनको परिचय खुल्न सकेको छैन। महिलाले किन खोलामा हाम फालेकी हुन् भन्ने कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।