अविरल वर्षापछि राजमार्गमा संकट, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन


अविरल वर्षाका कारण देशका प्रमुख तथा सहायक राजमार्गका विभिन्न सडक खण्डमा पहिरो र बाढीले क्षति पुर्‍याउँदा यातायात सेवा प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा यातायात एकतर्फी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ।

बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ (ललितपुर–हेटौँडा सडक खण्ड) असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।

लुम्बिनी प्रदेशका चार जिल्लाका विभिन्न सडक खण्डमा पनि पहिरोले यातायात अवरुद्ध भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझण्डी–ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा बन्द छन्। त्यस्तै, गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ।

यता, पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा भने सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।