साउन १ देखि ‘ब्लु बस’ नचल्ने, साझा बसको रङ पनि नफेरिने


काठमाडौँ । महिलाको सुरक्षित यात्राका लागि सरकारले साउन १ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। बजेट, कार्यविधि र सरकारसँगको औपचारिक सम्झौता नटुङ्गिएकाले सेवा केही समयपछि मात्रै सञ्चालन हुने साझा यातायातले जनाएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले साझा बसको हरियो रङ परिवर्तन गरेर निलो बनाउने कुनै योजना नरहेको स्पष्ट पारे। सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको उनले बताए।

उनका अनुसार महिलामैत्री सेवाको पहिचानका लागि बसमा स्टिकर वा अन्य दृश्यात्मक संकेत प्रयोग गरिनेछ। सरकारसँग सञ्चालन खर्च, बजेट र कार्यविधिको सुनिश्चितता भएपछि मात्रै ‘ब्लु बस’ सेवा सुरु गरिने उनले जानकारी दिए।

सरकारले पहिलो चरणमा काठमाडौँमा साझाका आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो।