मन्त्रिपरिषद्को ५ महत्वपूर्ण निर्णय सार्वजनिक, मिटरब्याज प्रतिवेदन तत्काल कार्यान्वयन हुने


काठमाडौं l मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल, नेपालका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय भएको छ।

बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको जिम्मेवारीसहित कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।