मनिष झाको सरकारलाई प्रश्न: यस्तो बचपना देखाएर राजकाज चल्छ?


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनीष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले यस्तो कार्यमा संलग्न व्यक्तिको अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै झाले सञ्चार गृहमा गाडी तेर्स्याएर अवरोध गर्ने कार्य गलत भएको बताएका हुन्। “सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,” उनले लेखेका छन्।

उनले राज्यको दायित्व नागरिकको चिन्ता सम्बोधन गर्नु भएको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई थप आतङ्कित बनाउने गतिविधिमा संलग्न हुन नहुने बताएका छन्। “राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने होइन। यस्तो बचपना देखाएर राजकाज चल्छ?” भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

झाले लोकतान्त्रिक आन्दोलन र नयाँ पुस्ताको योगदानको सन्दर्भ उल्लेख गर्दै, “के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो?” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस किसिमका गतिविधिप्रति घोर आपत्ति रहेको पनि बताएका छन्।