कर्णाली सरकार संकटमा, कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा


सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।

मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन्।

बुधबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन्। आर्थिक मामिला तथा योजनामन्त्री शाह विदेश भ्रमणमा रहेका छन् भने अन्य मन्त्रीहरू मुख्यमन्त्री कार्यालय पुगे पनि मन्त्रिपरिषद् बैठकमा सहभागी नभई राजीनामा बुझाएर फर्किएका थिए।

कर्णाली प्रदेशमा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार सञ्चालनमा छ। हाल सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन्।

राजीनामा दिएका कांग्रेसका मन्त्रीहरूले एमाले र कांग्रेसबीच भएको आलोपालो नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति कार्यान्वयन नभएकाले सामूहिक रूपमा पद त्याग गरेको बताएका छन्।

चार मन्त्रीको राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरण र गठबन्धनको भविष्यबारे राजनीतिक चासो बढेको छ।