काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा समय तोकेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथमा बुधबार साँझ पहिरो खस्दा अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि आज बिहानदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यता, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
वर्षायामको जोखिमलाई मध्यनजर गर्दै मकवानपुरस्थित कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।
यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त सडकको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ अन्तर्गत सालझण्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार सडक विभागसहित सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्।
प्रहरीले वर्षायाममा अत्यावश्यक बाहेकको यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गरेका सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

















प्रतिक्रिया