सरकार र मिटरब्याज पीडितबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी


काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

यसअघि सिमरामा भएको वार्तामा मौखिक सहमति जुटेपछि त्यसलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारीस्वरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तिम चरणको निर्णायक वार्ता भइरहेको छ।

हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो। सोही छलफलमा भएको सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौताको तयारी गरिएको हो।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन्।

पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्य छन्।

दुवै पक्षबीच सहमति जुटे आजै सम्झौतापत्रमा हस्ताक्षर हुने र लामो समयदेखि जारी मिटरब्याज पीडितको आन्दोलन समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।