काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि सुरु भएको छ। यससँगै सरकारले बजेट वक्तव्य र आर्थिक ऐन २०८३ मार्फत घोषणा गरेका नयाँ करका दर तथा राजस्वसम्बन्धी व्यवस्थाहरू पनि कार्यान्वयनमा आएका छन्।
सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ पुर्याएको छ। अब वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय हुने व्यक्तिले १ प्रतिशत आयकर तिर्नुपर्नेछ। १० लाखदेखि १५ लाख रुपैयाँसम्मको करयोग्य आयमा १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत र २५ लाख रुपैयाँभन्दा माथिको आयमा २७ प्रतिशत कर लाग्नेछ। ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा थप २ प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था गरिएको छ।
धितोपत्र कारोबारतर्फ सूचीकृत कम्पनीको शेयर बिक्रीबाट हुने लाभमा एक वर्षभन्दा बढी समय शेयर होल्ड गरी बिक्री गरे ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गरे १० प्रतिशत लाभकर लाग्नेछ। यो लाभकर नै अन्तिम कर हुने व्यवस्था गरिएको छ।
घरजग्गा कारोबारमा पनि नयाँ व्यवस्था लागू भएको छ। पाँच वर्षभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा ७.५ प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको घरजग्गा बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि नयाँ शुल्क लागू भएको छ। निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क तथा निजी स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू भएको छ।
विद्युत् उपभोगमा पनि करको नयाँ व्यवस्था लागू भएको छ। अब ५० युनिटभन्दा बढी घरायसी विद्युत् खपत गर्ने उपभोक्ताले ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ भने औद्योगिक विद्युत् उपभोगमा १३ प्रतिशत भ्याट लाग्नेछ।
राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरू पठाओ, इनड्राइभर र याङ्गोमार्फत लिइने सेवामा ५ प्रतिशत सेवा शुल्क थपिएको छ।
यस्तै, मिनी क्यासिनोको वार्षिक रोयल्टी १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। लक्जरी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क लागू भएको छ भने सुनचाँदीका गरगहना खरिदमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ।

















प्रतिक्रिया