काठमाडौं – मलेसियन अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रममार्फत कारका प्राइम र प्रिमियम गरी दुई भेरियन्ट बजारमा ल्याएको हो।

कम्पनीले प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
यसअघि नेपाली बजारमा ‘ई मास सेभेन’ उपलब्ध गराइसकेको कम्पनीले अहिले ‘ई मास फाइभ’लाई रियर–ह्विल ड्राइभ (RWD) विकल्पमा ल्याएको हो।
ब्याट्री क्षमताअनुसार प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–आवर र प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट–आवरको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यी ब्याट्रीले एकपटक पूर्ण चार्ज गर्दा क्रमशः २२५ किलोमिटर र ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने रेन्ज प्रदान गर्छन्।
त्यस्तै, प्राइम भेरियन्टमा ५८ किलोवाट र प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ।

इन्टेरियरलाई आधुनिक र प्रविधिमैत्री बनाइएको यस कारमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्क्सन स्टेयरिङ ह्विल, ५० वाट वायरलेस चार्जर, एम्बियन्ट लाइटिङ र किलेस इन्ट्री जस्ता सुविधा समावेश छन्।
सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, एडास (Advanced Driver Assistance System) प्रविधि तथा ३६० डिग्री क्यामेरा जस्ता आधुनिक सुरक्षा सुविधा दिइएको कम्पनीले जनाएको छ।
प्रोटोन ‘ई मास फाइभ’ ले मलेसियाको प्रतिष्ठित एलायन्स डीएसएफ भेइकल अफ द इयर अवार्ड २०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ उपाधि समेत जितिसकेको छ।

















प्रतिक्रिया