काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापनका लागि अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको छ।
मुद्दा तथा अनुसन्धान, राहत तथा उद्धारलगायत संस्थागत उजुरीका लागि सुरु गरिएको उक्त प्रणालीको उद्घाटन तथा विभागले पुराना फाइल डिजिटलाइज गर्ने कार्यको निरीक्षण गर्दै मन्त्री यादवले अब वैदेशिक रोजगारीका पीडितहरूलाई उजुरी दर्ता गर्न काठमाडौं धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो। उहाँका अनुसार विदेशमा रहेका नेपालीले पनि अनलाइनमार्फत उजुरी दर्ता गरी आफ्नो कारबाहीको अवस्थाबारे जानकारी लिन सक्नेछन्।
मन्त्री यादवले भन्नुभयो, “तपाईं विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईंको साथमा छ। न्यायका लागि अब काठमाडौं धाइरहनु पर्दैन। आफ्नै मोबाइलबाट उजुरी दर्ता गरेर न्यायको प्रक्रिया अघि बढाउन सक्नुहुन्छ।”
वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्दै श्रमिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।
निरीक्षणका क्रममा वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्य, मन्त्रालयका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेलगायतको उपस्थिति रहेको थियो।

















प्रतिक्रिया