काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने निर्णयको स्वागत गरेका छन्।
मंगलबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त व्यवस्था अनुपयुक्त भएको विषय आफूहरूले सुरुदेखि नै उठाउँदै आएको बताएका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने र धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता भएको उनको भनाइ छ।
थापाले निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार भएकाले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने उल्लेख गरेका छन्। उनका अनुसार समता शुल्क समानताको नीति नभई असमानतालाई थप बढावा दिने व्यवस्था थियो।
सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको भन्दै थापाले निर्णयलाई सही कदमको संज्ञा दिएका छन्। उनले उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा गर्न आग्रह गरेका छन्।
यससँगै थापाले सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याएर आमनागरिकको भावना सम्बोधन गर्नुपर्ने बताएका छन्।

















प्रतिक्रिया