काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा युवती मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बर कोठाभित्र रहेको काठको बक्स पलङभित्र साउन ३ गते बिहान करिब ११ बजे एक महिलाको शव फेला परेको थियो।
घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। प्राविधिक विश्लेषणका आधारमा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनारका रूपमा भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

















प्रतिक्रिया