काठमाडौं । पत्रकार तथा ‘स्वतन्त्र नागरिक अभियान’का अध्यक्ष ऋषि धमलाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर खारेज गर्ने निर्णयको स्वागत गर्दै बिजुली, कृषि तथा राइड सेयरिङ (पठाओ) मा लगाइएका कर पनि हटाउन माग गरेका छन्।
मंगलबार साँझ आयोजित स्वतन्त्र नागरिक अभियानको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले मंगलबार बिहान शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर खारेज गर्न सार्वजनिक रूपमा आवाज उठाएको र सोही दिन सरकारले उक्त निर्णय गरेको भन्दै सरकारको प्रशंसा गरे।

“नागरिकको आवाज सरकारले सुनेको छ। शिक्षा र स्वास्थ्य क्षेत्रको कर हटाउने निर्णय स्वागतयोग्य छ,” उनले भने, “जनताको माग सम्बोधन गरेकोमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिन चाहन्छु।”
धमलाले शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र सीमित नरही बिजुली, कृषि र राइड सेयरिङ सेवामा लगाइएको कर पनि तत्काल फिर्ता लिनुपर्ने माग गरे। जलस्रोतमा धनी मुलुक नेपालमा विपन्न नागरिकलाई निःशुल्क बिजुली उपलब्ध गराउनुपर्ने र स्वरोजगारमा रहेका युवामाथि करको अतिरिक्त भार थोपर्न नहुने उनको भनाइ थियो।
अर्थतन्त्रबारे टिप्पणी गर्दै उनले बैंकिङ प्रणालीमा अर्बौं रुपैयाँ तरलता भए पनि वास्तविक किसान र विपन्न वर्गले सहज रूपमा ऋण नपाएको बताए। बैंकबाट ऋण नपाएका कारण किसानहरू चर्को ब्याजमा साहुसँग ऋण लिन बाध्य भएको र त्यसले मिटरब्याजको समस्या तथा आत्महत्याका घटनासमेत बढाएको उनको दाबी थियो।

धमलाले गरिब तथा निमुखा नागरिकलाई लक्षित गरी बैंक तथा सरकारले ऋण नीतिमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले विगतका राजनीतिक परिवर्तन जनताको बलमा सम्भव भएको स्मरण गराउँदै अबका जनता अझ सचेत रहेको उल्लेख गरे। राजनीतिक स्थायित्व, रोजगारी सिर्जना, सुशासन र भ्रष्टाचार अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ थियो।
प्रतिपक्ष दलहरूले जनताका वास्तविक मुद्दा र भ्रष्टाचारविरुद्ध प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै धमलाले ‘स्वतन्त्र नागरिक अभियान’ले सुशासन र विकासका एजेन्डा लिएर सडक आन्दोलनलाई अघि बढाउने चेतावनी दिए। साथै, संविधान संशोधन र मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्ति र सरोकारवालाबीच राष्ट्रिय सहमति आवश्यक रहेकोमा उनले जोड दिए।

















प्रतिक्रिया