भोटेकोसीमा इभी खस्दा चालकसहित गाडी बेपत्ता, खोजी जारी


काठमाडौं । चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय (इभी) गाडी शनिबार साँझ रसुवाको भोटेकोसी नदीमा खस्दा चालकसहित बेपत्ता भएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेपत्ता हुने व्यक्ति कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ हुन्। उक्त इभी भन्सार जाँचपास गरी काठमाडौं लैजाने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीस्थित दक्षिण चलिमे जलविद्युत् केन्द्र अगाडि सडकबाट भोटेकोसीमा खसेको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि गृहमन्त्री सुदन गुरुङ, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सुरक्षा निकायको टोली घटनास्थलमा परिचालन भएको थियो। शनिबार राति करिब १० बजेसम्म दुर्घटनास्थलदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–२१६ को ड्याम क्षेत्रसम्म ड्रोनको समेत प्रयोग गरी खोजी गरिए पनि गाडी र चालकको अवस्था पत्ता लाग्न सकेन। सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार आइतबार बिहानदेखि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।