काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना हुने भनिएको कथित ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिना सहमति समावेश गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
बिहीबार जारी अपिलमार्फत अध्यक्ष चम्लागाईंले उक्त भेलासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने वा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन्। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका रूपमा आफ्नो नाम राखिएको विषय स्वीकार्य नभएको उनको भनाइ छ।
उनले पार्टीभित्र असन्तुष्टि हुन सक्ने भए पनि त्यसको समाधान विधान, विधि र संगठनात्मक प्रक्रियाभित्रै खोजिनुपर्नेमा जोड दिएका छन्। वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै पनि समानान्तर वा अवैधानिक भेला हुन नसक्ने उनको तर्क छ।
चम्लागाईंले नेतृत्व परिवर्तनको लोकतान्त्रिक माध्यम महाधिवेशन नै भएको उल्लेख गर्दै असन्तुष्ट नेताहरूलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत नेतृत्वको प्रतिस्पर्धामा उत्रिन आग्रह गरेका छन्। साथै, समानान्तर गतिविधि, भ्रम फैलाउने प्रयास र विभाजनको राजनीति त्यागेर खुला लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेका छन्।
उनले कांग्रेस लाखौँ कार्यकर्ताको त्याग, बलिदान र जनविश्वासबाट बनेको संस्था भएकाले पार्टीलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। साथै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका सदस्य तथा कांग्रेस कार्यकर्ताहरूलाई वैधानिक नेतृत्वको पक्षमा दृढतापूर्वक उभिन र यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेका छन्।

अन्त्यमा उनले पार्टीभित्रका मतभेद संवाद, सहकार्य र विधानसम्मत प्रतिस्पर्धामार्फत समाधान गर्दै एकताबद्ध, सुदृढ र समयानुकूल नेपाली कांग्रेस निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन्।




















प्रतिक्रिया