नेपाली कांग्रेसको संसदीय दलको आज बैठक बस्दै


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ।

संसदीय दलको कार्यालयका अनुसार बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा उठाउनुपर्ने प्रमुख एजेन्डा तथा पार्टीको आन्तरिक रणनीतिबारे विस्तृत छलफल हुनेछ।

त्यसैगरी, आगामी संसद् बैठकका लागि पार्टीको रणनीति तय गर्ने, जनजीविकासँग सम्बन्धित विषयहरूलाई सदनमा सशक्त रूपमा उठाउने तथा सरकारका काम–कारबाहीमाथि प्रभावकारी निगरानी कसरी बढाउने भन्ने विषयमा पनि बैठक केन्द्रित रहने जनाइएको छ।

बैठकमा पार्टीभित्रको आन्तरिक समन्वयलाई थप सुदृढ बनाउने, साथै संसद्मा विचाराधीन विभिन्न विधेयकहरूको समीक्षा गर्ने विषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ।