रवि लामिछानेलाई कांग्रेस सांसदको धन्यवाद, सर्वदलीय बैठक सकारात्मक कदम भएको टिप्पणी


काठमाडौं – नेपाली कांग्रेसका सांसद निस्कल राईले सुनसरी घटनापछि उत्पन्न तनाव समाधानका लागि सर्वदलीय बैठक आह्वान गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले संवेदनशील घटनाका बेला राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिनु सकारात्मक कदम भएको बताए। उनले सर्वदलीय बैठकको पहलले संवाद र सहकार्यको वातावरण बनाउन सहयोग पुगेको उल्लेख गरे।

राईले सुनसरी घटनापछि धार्मिक तनावलाई हिन्दु–मुस्लिम द्वन्द्वमा रूपान्तरण हुन नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा तथा स्थानीयवासीले खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूको समन्वयले ठूलो दुर्घटना टार्न सहयोग पुगेको उनको भनाइ थियो।

उनले धर्मका नाममा सुरु भएका द्वन्द्वले अन्ततः कुनै धर्मलाई होइन, मानवतालाई नै पराजित गर्ने इतिहास रहेको उल्लेख गर्दै सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे।

सांसद राईले शान्ति भनेको केवल कर्फ्यु हट्नु वा सडक सञ्चालन हुनु मात्र नभई नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास बढ्नु र समुदायबीच पुनः विश्वासको वातावरण सिर्जना हुनु नै वास्तविक शान्ति भएको धारणा राखे।

त्यसैगरी, सरकार र आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिप्रति पनि उनले प्रश्न उठाउँदै वार्ता र सहमतिका क्रममा कुनै एक पक्षलाई मात्र सम्बोधन गर्दा अर्को पक्षमाथि अन्याय हुने अवस्था सिर्जना हुन नहुने बताए।