काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पछिल्लो फेसबुक स्टाटसले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ। शुक्रबार राति सामाजिक सञ्जालमार्फत शाहले ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्’ भन्दै सार्वजनिक गरेको सन्देशलाई लिएर उनको राजनीतिक अवस्थाबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।
शाहले ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’ भन्दै आफूले भोगिरहेको परिस्थितिबारे बाहिरबाट देखिएको चित्रभन्दा भित्री अवस्था फरक हुनसक्ने संकेत गरेका छन्। अझ अर्थपूर्ण रूपमा उनले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’ भनेका छन्।
उनको यही अभिव्यक्तिले अहिले मूल प्रश्न उठाएको छ- प्रधानमन्त्री बालेन शाह राजनीतिक रूपमा आखिर कति एक्लिएका छन् ?
नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थामा दुई ठूला छिमेकीबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती एकातिर छ भने अर्कोतर्फ सरकार सञ्चालनकै क्रममा आफ्नै राजनीतिक घेराभित्रबाट आउने दबाब व्यवस्थापन गर्नुपर्ने अवस्था प्रधानमन्त्री शाहसामु देखिएको छ।
शाहको स्टाटसमा कुनै व्यक्ति, दल वा घटनाको नाम उल्लेख छैन। त्यसैले उनले कसलाई संकेत गरेका हुन् भन्ने स्पष्ट छैन। तर ‘एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिले उनको राजनीतिक यात्रामा केही असहज परिस्थिति सिर्जना भएको संकेत भने गरेको छ।
रवि–बालेन समीकरणमा पनि प्रश्न
प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिसँगै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँगको राजनीतिक सम्बन्धलाई लिएर पनि प्रश्न उठ्न थालेका छन्।
केही महिनाअघि राजनीतिक समीकरणका क्रममा एउटै दिशामा देखिएका शक्ति अहिले किन फरक–फरक बाटो खोजिरहेका छन् भन्ने बहस सुरु भएको छ। रविले किन अर्को ‘गोलपोस्ट’ खोजिरहेका छन् ? चार महिनामै राजनीतिक समीकरणप्रति किन असन्तुष्टि बढ्यो ? भन्ने प्रश्न अहिले स्वाभाविक रूपमा उठेको छ।
हिजो आफ्नो खुट्टामा आएको राजनीतिक बललाई सहकार्य र समन्वयमार्फत अगाडि बढाउने अपेक्षा गरिएका रवि अहिले फरक राजनीतिक विकल्पतर्फ संकेत गरिरहेका छन् भने त्यसको असर सरकारको स्थायित्वमा कति पर्छ भन्ने विषय पनि महत्वपूर्ण बनेको छ।
तर, रवि र बालेनबीचको सम्बन्धमा वास्तवमै के भइरहेको छ भन्नेबारे दुवै पक्षबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको छैन। त्यसैले सामाजिक सञ्जालका अभिव्यक्ति र राजनीतिक गतिविधिलाई आधार बनाएर निष्कर्ष निकाल्नु हतार हुनेछ।
यद्यपि प्रधानमन्त्री शाहको ‘ढिला होला, तर गलत हुँदैन’ र ‘एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिले वर्तमान राजनीतिक परिस्थितिमा केही गम्भीर चलखेल वा दबाब रहेको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।
अब प्रश्न एउटै छ- प्रधानमन्त्री बालेनलाई कसले एक्ल्याउँदैछ ? राजनीतिक सहयात्रीहरू किन टाढिँदैछन् ? र, चार महिनामै बदलिँदै गएको समीकरणको अन्तिम गन्तव्य कहाँ पुगेर रोकिन्छ ?
बालेनको एउटा फेसबुक स्टाटसले यी प्रश्नको उत्तर दिएको छैन, बरु नेपाली राजनीतिमा नयाँ प्रश्नको ढोका खोलिदिएको छ।



















प्रतिक्रिया