प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच पहिलो ‘वान टु वान’ भेट, के भयो कुराकानी?


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच पहिलोपटक ‘वान टु वान’ भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

दुवै पक्षबीचको भेटलाई नेपाल–भारत सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा विकास साझेदारीका नयाँ सम्भावनामा सहकार्य विस्तार गर्ने दिशामा सकारात्मक भेटका रूपमा हेरिएको छ।