पाटन बार चुनावमा विवाद चर्कियो, निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न


काठमाडौं । उच्च अदालत बार एसोसिएसन, पाटनको शनिबार सम्पन्न निर्वाचन धाँधलीपूर्ण, एकपक्षीय र अपारदर्शी भएको आरोप लगाउँदै स्वतन्त्र कानुन व्यवसायी मञ्चले निर्वाचन बहिष्कार गरेको छ।

मञ्चका कार्यवाहक अध्यक्ष हरिचन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियामा एकपक्षीयता र अनधिकृत व्यक्तिको संलग्नता रहेको दाबी गरेका छन्। यस्तो गतिविधिले कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा असर पारेको मञ्चको आरोप छ।

निर्वाचनको निष्पक्षता, पारदर्शिता र वैधानिकतामाथि गम्भीर प्रश्न उठेको भन्दै मञ्चले उक्त निर्वाचनलाई वैधता दिन नसकिने जनाएको छ। साथै, अनधिकृत व्यक्तिबाट एकतर्फी रूपमा सञ्चालन गरिएको भनिएको निर्वाचन प्रक्रिया अस्वीकार गर्दै बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।