सिद्धार्थ राजमार्गमा ठूलो पहिरो, सडक पूर्णरूपमा बन्द


पाल्पा । तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थाननजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार सुरुङमार्गको प्रवेश बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ माथिबाट लगातार पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटिएको छ।

पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ। पहिरो रोकिएपछि जेसीबी प्रयोग गरी सडक खुलाउने तयारी गरिएको छ।

सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि पाल्पा–बुटवल आवतजावत प्रभावित भएको छ। प्रहरीले यात्रुलाई पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।