मन्त्रीको अनुभवसँगै मुख्यमन्त्रीको दौडमा किरण


हेटौँडा । एमालेका किरण थापामगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएका हुन्।

एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा सरकार गठन गरेका थापाको राजनीतिक यात्रा भने लामो छैन। उनले २०५३ सालमा राप्रपाको गाउँ कमिटी अध्यक्ष हुँदै राजनीति सुरु गरेका थिए।

२०७१ मा एमाले प्रवेश गरेका थापा २०७४ मा सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष बने। २०७९ को निर्वाचनमा भक्तपुर–२(क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनले बागमती सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले।

स्वास्थ्य मन्त्रालयमा दुईपटक मन्त्री बनेका थापा छोटो समयमै मन्त्री हुँदै अब बागमतीको मुख्यमन्त्री बन्न सफल भएका छन्। व्यवसायीसमेत रहेका थापा एमाले सचिव महेश बस्नेतनिकट नेताका रूपमा चिनिन्छन्।