निखिलको ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक, साउथ इन्डियन फिल्म’को झल्को दिने दृश्यले बढायो कौतुहलता


काठमाडौं – अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक गरिएको छ । निखिल उप्रेती प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मको झन्डै दुई मिनेट लामो टिजरले निखिललाई नयाँ अवतारमा प्रस्तुत गरेको छ ।

टिजरमा निखिललाई अन्यायविरुद्ध लड्ने ‘आचार्य’ पात्रका रूपमा देखाइएको छ । सञ्चारकर्मी संजोग बस्यालको ‘भ्वाइस ओभर’बाट सुरु हुने टिजरमा सत्यको आवाज दबिएपछि एउटा योद्धाको जन्म हुने प्रसंग उल्लेख गरिएको छ । त्यसपछि निखिललाई जबर्जस्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

प्याराग्लाइडिङदेखि बाइक स्टन्टसम्मका दृश्यले टिजरमा एक्सनको मात्रा उच्च देखाएको छ । लामो समयपछि निर्देशनमा फर्किएका निखिलले फिल्मका लागि गरेको मेहनत र तयारी टिजरमा देखिने एक्सन दृश्यबाटै अनुमान लगाउन सकिन्छ ।

टिजर हेर्दा कतिपय दृश्य र पात्रको प्रस्तुति साउथ इन्डियन फिल्मको झल्को दिने खालको देखिन्छ । एक्सन, क्यामेराको शैली, पात्रहरूको गेटअप र प्रस्तुतिले सुरुमा कतै दक्षिण भारतीय फिल्मको टिजर त होइन भन्ने भानसमेत गराउन सक्छ । तर यो कुनै दक्षिण भारतीय फिल्म नभई निखिल उप्रेतीले निर्देशन तथा अभिनय गरेको नेपाली फिल्म ‘आचार्य’ हो ।

फिल्मका लागि निखिलले लामो समयदेखि तयारी गर्दै आएका थिए । पर्दामा उनको एक्सन अवतारसँगै निर्देशनको जिम्मेवारीसमेत सम्हालेका निखिलको यो कमब्याकलाई दर्शकले चासोका साथ हेरेका छन् ।

झन्डै दुई मिनेट लामो टिजरमा निखिलसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरी, सञ्जय गुप्ता तथा भारतीय कलाकारहरू दीपराज राणा र रघु बाबु देखिएका छन् । भारतीय कलाकारको उपस्थितिले पनि फिल्मको कथावस्तु र यसको दायराबारे थप कौतुहलता सिर्जना गरेको छ ।

टिजरको एक दृश्यमा भारतको महाराष्ट्र प्रदेशको नम्बर प्लेट भएको गाडी देखिनु तथा भारतीय कलाकारहरूको उपस्थितिले फिल्मको कथा नेपाल–भारत सम्बन्धसँग जोडिएको हुनसक्ने संकेत गर्छ । यद्यपि निर्माण पक्षले टिजरमार्फत फिल्मको मूल कथावस्तु भने खुलाएको छैन ।

निखिल उप्रेती प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता कृष्ण भट्टराई हुन् । फिल्मको लेखन निखिल उप्रेती स्वयंले गरेका छन् ।

मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । शुक्रराज शाहले द्वन्द्व निर्देशन गरेका छन् भने युग भुसालको संगीत रहेको छ । गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् ।

लामो समयपछि निर्देशनमा फर्किएका निखिलको ‘आचार्य’लाई उनको निर्देशकीय कमब्याकका रूपमा हेरिएको छ । टिजरमा देखाइएको एक्सन, रहस्यमय कथा र नेपाल–भारत जोडिने संकेतले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाएको छ ।

‘आचार्य’ असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।