काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि प्रस्तुत गर्नेछन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्। प्रतिनिधिसभामा बढीमा १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्। रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा मात्रै प्रश्न दर्ता भएका छन्।
रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्।
त्यस्तै, नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपाबाट वर्षमान पुन र प्रमेश हमाल तथा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्।
श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्ने तयारी गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालले भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।






















प्रतिक्रिया