विपद् व्यवस्थापनदेखि राज्य सञ्चालनसम्म, आलोचनाको गृहमन्त्री गुरुङले दिए जवाफ


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राज्य सञ्चालनको शैलीलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन् । उनले पुरानो शैली र संरचनाबाटै नयाँ तथा उत्कृष्ट परिणाम खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गुरुङले वर्षौँदेखि वास्तविक अवस्था नबुझी कुर्सीमा बसेर मात्रै नेतृत्व गर्दाको परिणाम मुलुकले भोग्दै आएको बताएका हुन् ।

उनले अहिलेको नेतृत्व शैली पुरानो प्रणालीभन्दा फरक रहेको दाबी गर्दै केही व्यक्तिले आफूहरूलाई अझै पनि पुरानै शैली अपनाउन दबाब दिइरहेको बताएका छन् ।

‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप),’ उनले भनेका छन् ।

मन्त्री गुरुङले विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै विपद् व्यवस्थापनबारे अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन् ।

उनका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीको सहभागितामा कमान्ड सेन्टरबाट नियमित रूपमा रणनीतिक बैठक भइरहेका छन् । अनलाइन माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक भइरहेको उनको दाबी छ ।

डिजिटल प्रविधिको प्रयोगका कारण प्रशासनिक तथा उद्धारका कामहरू परम्परागत रूपमा टेबल पछाडि बसेर गरिनेभन्दा छिटो र प्रभावकारी भइरहेको पनि उनले बताएका छन् ।

आलोचकहरूलाई लक्षित गर्दै उनले आफू कहाँ बसेर काम गरिरहेको छु भन्नेभन्दा पनि कामको परिणाम हेर्न आग्रह गरेका छन् ।

‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन् । साथै, पुरानो प्रणालीभन्दा फरक र उत्कृष्ट परिणामको अपेक्षा गर्ने तर पुरानै शैली अपनाउन दबाब दिने प्रवृत्ति आफूलाई अचम्म लागेको उनको भनाइ छ।