प्रधानमन्त्री बालेनसँग प्रमुख सल्लाहकार बेनसहित चार जना मात्रै अमेरिका जाने


काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आगामी साता अमेरिकाको न्यूयोर्क जाने भएका छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीलाई चुस्त र छरितो बनाउने नीतिअनुसार सचिवालयबाट चार जना मात्रै साथमा जाने तय भएको छ । टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र आधिकारिक फोटोग्राफर विनय शाक्य रहनेछन् ।

परराष्ट्रमन्त्री शिशिर खनालसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।

महासभाका क्रममा प्रधानमन्त्री शाहले विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै जलवायु परिवर्तन, क्षेत्रीय सुरक्षा र विकासशील राष्ट्रका साझा चुनौतीबारे नेपालको धारणा राख्ने कार्यक्रम रहेको छ ।

सरकारी खर्चमा कटौती र वैदेशिक भ्रमणमा हुने फजुल खर्च नियन्त्रण गर्ने नीतिअनुसार प्रधानमन्त्रीले सचिवालयबाट सीमित व्यक्तिलाई मात्रै भ्रमण टोलीमा समावेश गरेको बताइएको छ ।