बाढी प्रभावित क्षेत्रमा एनसेलले १६ दिनसम्म दियो निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा


काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा पुनः ७ दिन थप गरेको छ।

एनसेलका अनुसार प्रभावित क्षेत्रमा भदौ २० गतेदेखि भदौ २६ गतेसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध हुनेछ। विपद्का बेला सहज सञ्चार कायम राख्न, खोज तथा उद्धार र राहत वितरणमा समन्वय गर्न सहयोग पु¥याउने उद्देश्यले कम्पनीले निःशुल्क सेवा सञ्चालन गर्दै आएको हो।

बाढीका कारण अवरुद्ध भएका एनसेलका २७ वटा टावरमध्ये २५ वटा अर्थात् ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी टावरसमेत सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको कम्पनीले जनाएको छ।

रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ। त्यस्तै रसुवाकै उत्तरगया–तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पु¥याएर सेवा सञ्चालन गर्ने प्रयास भइरहेको एनसेलले जनाएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले निःशुल्क सेवा थप गरिएको बताए।

उनका अनुसार ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेकाले निःशुल्क सञ्चार सेवाले प्रभावित समुदायका नागरिकलाई आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न थप सहज बनाउनेछ।

भदौ १० देखि निरन्तर निःशुल्क सेवा

एनसेलले बाढी आएको भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि सेवाको अवधि थप ७ दिन बढाएर भदौ १९ गतेसम्म पु¥याइएको थियो।

अहिले पुनः ७ दिन थप गर्दै भदौ २६ गतेसम्म सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको हो।

विपद्को समयमा सञ्चार सेवा प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका निकायसँग सम्पर्कमा राख्न महत्वपूर्ण माध्यम बनेको एनसेलले जनाएको छ।

कम्पनीले सम्बन्धित निकायबाट जारी हुने जानकारीमूलक तथा जनचेतनामूलक सन्देश एसएमएस, कल टोन र सामाजिक सञ्जालमार्फत समेत सम्प्रेषण गर्दै आएको जनाएको छ।

९२ प्रतिशत टावर सञ्चालनमा

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा एनसेलका २७ वटा टावर अवरुद्ध भएका थिए। तीमध्ये २५ वटा पुनः सञ्चालनमा आइसकेका छन्।

नुवाकोटको त्रिशूलीमा रहेको २५औँ टावर बिहीबार पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। यससँगै प्रभावित क्षेत्रमा सञ्चार सेवा थप सहज भएको कम्पनीको भनाइ छ।

बाँकी टावरमध्ये टिमुरेको टावर पूर्ण रूपमा क्षतिग्रस्त भएकाले पुनःनिर्माण आवश्यक रहेको छ भने उत्तरगया–तिरु क्षेत्रको टावर सञ्चालनका लागि आवश्यक उपकरण तथा प्राविधिक व्यवस्थापन भइरहेको छ।

उद्धार कोषमा १ करोड सहयोग

एनसेलले बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो।

कम्पनीले विपद्का समयमा आफ्ना ग्राहकलाई निरन्तर सञ्चार सेवामा जोडिराख्नुका साथै सरकारी तथा सम्बन्धित निकायका सूचना प्रवाहमा समेत सहयोग गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा कठिन परिस्थितिका बाबजुद अवरुद्ध टावरहरू छिटो पुनः सञ्चालनमा ल्याएको र निःशुल्क सञ्चार सेवा निरन्तर विस्तार गरेको भन्दै स्थानीय नागरिकले एनसेलको पहलप्रति धन्यवाद व्यक्त गरेका छन्।