नीशा र प्रकाशको ‘लाली लपक्कै’मा निरुता र विन्दुको छमछमी


काठमाडौं – गायिका नीशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन्। भदौ १० गते नै सार्वजनिक गर्ने तयारी भए पनि नेपालमा आएको विनाशकारी बाढीका कारण गीतको रिलिज केही समय पछि सारिएको थियो।

नीशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ। सार्वजनिक भिडियोमा प्रकाश सपुतसँगै अभिनेत्री निरुता सिंह र विन्दु बोहराको आकर्षक नृत्य देख्न सकिन्छ। गायिका नीशा सुनार पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत भएकी छन्।

सुनिल वीकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ। हरि हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्।

यस गीतमार्फत गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दु बोहराले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन्। त्यसैले उनीहरूको जोडीको केमेस्ट्री दर्शकका लागि विशेष आकर्षण बन्न सक्छ।

यस्तै, अभिनेत्री निरुता सिंहले पछिल्लो समय निकै कम म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छन्। गीत कर्णप्रिय लागेकै कारण आफू भिडियोमा जोडिएको उनको भनाइ छ।

तीजको माहोललाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘लाली लपक्कै सारी सपक्कै’मा लोकलय, नृत्य र कलाकारहरूको प्रस्तुतिले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ।