‘बाढी आउँदैछ’ फोन आएपछि ११ राउण्ड हवाई फायरसम्म : नुवाकोट कारागारभित्रको त्यो भयावह बिहान


नुवाकोट – भदौ १० गते बिहान ९ बजेर २६ मिनेट। नुवाकोट कारागारमा नियमित काम भइरहेका बेला सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पप्पु यादवको मोबाइलमा प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो।

‘त्रिशूलीमा ठूलो बाढी आउँदैछ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु।’

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे आएको उक्त सूचनापछि कारागारमा तत्काल उच्च सतर्कता अपनाइयो। सशस्त्र प्रहरीका प्रहरी निरीक्षक यादव र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदीको नेतृत्वमा रहेका ५२ सुरक्षाकर्मीले कारागारभित्र रहेका कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्न थाले।

कारागारका ब्लक १ र २ मा रहेका कैदीबन्दीलाई तत्काल कारागार परिसरभित्रै सुरक्षित एसेम्बली प्वाइन्टमा ल्याइयो। उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको केहीबेरमै कारागार भवनसम्म बाढीको पहिलो धक्का आइपुग्यो।

‘हामीले कैदीबन्दीलाई एसेम्बलीमा ल्याएपछि नदी किनारबाट करिब १०० मिटर टाढा रहेको कारागार भवनमा बाढीको पहिलो धक्का लाग्यो,’ यादवले भन्नुभयो, ‘बाढी आइसकेपछि कैदीबन्दीमा थप त्रास फैलियो र उनीहरू पनि तितरबितर हुन थाले।’

त्यसैबीच सुरक्षाकर्मीले कैदीबन्दीलाई सुरक्षित राख्नुका साथै कारागारमा रहेका हातहतियारसमेत जोगाउने प्रयास गरे। तर, हिलो र गेग्रानसहितको भीषण बाढीले प्रशासनिक भवन हुँदै नेपाल प्रहरीको भवन र कारागार परिसरमा प्रवेश गरेपछि अन्य संरचना जोगाउने अवस्था रहेन।

कारागारमा बाढी पस्नुअघि करिब डेढ किलोमिटर माथि रहेको २५ मेगावाट क्षमताको नुवाकोट सौर्य परियोजनामा समेत बाढीले क्षति पुर्‍याइसकेको थियो। कारागारको हाइपोस्टबाट सुरक्षाकर्मीले बाढीको भयावह दृश्य देखिरहेका थिए।

बाढी कारागारको कैदीबन्दी भवनसम्म पुग्दा दुईवटा पेरिमिटर पर्खालले ठूलो क्षति हुनबाट जोगाएको सुरक्षाकर्मीको भनाइ छ।

‘कारागारको भवनमा ठूलो क्षति हुन पाएन। यसको एउटा कारण बाहिरका दुईवटा पेरिमिटर पर्खाल हुन्,’ यादवले भन्नुभयो, ‘यदि बाढी सिधै कारागार भवनमा ठोक्किएको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो। प्रशासनिक भवन र नेपाल प्रहरीको भवन हुँदै पेरिमिटर पर्खालमा ठोक्किँदा बाढीको गति कम भयो।’

बाढीले दुईवटा पेरिमिटर पर्खालका केही भाग भत्काएको छ भने कारागारका ब्लक १ र २ मा पानी पसेको छ। करिब दुई मिटरको दूरीमा रहेका ती पर्खाल एकपछि अर्को भत्किँदा बाढीको वेग क्रमशः कम हुँदै कारागार भवनसम्म पुगेको सुरक्षाकर्मीको भनाइ छ।

तर, कैदीबन्दीलाई बाढीबाट जोगाएपछि पनि सुरक्षाकर्मीको चुनौती सकिएन। बाढीको त्राससँगै कैदीबन्दीले कारागार परिसरमा होहल्ला गर्न थाले। ९२३ कैदीबन्दीको सुरक्षाका लागि खटिएका ५२ सुरक्षाकर्मीलाई उनीहरूलाई नियन्त्रणमा लिन निकै कठिन भयो।

५० भन्दा बढी कैदीबन्दी मूल गेटभन्दा बाहिर निस्किएपछि अवस्था तनावपूर्ण बनेको थियो। भीड नियन्त्रण गर्न इन्चार्ज यादवले ११ राउण्ड हवाई फायर गर्नुभयो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप प्रहरी टोलीसमेत कारागार पुगेको थियो।

बाढीको त्रास कम भएपछि कैदीबन्दीलाई पुनः कारागारभित्र व्यवस्थापन गर्ने क्रममा दुई जना कैदीबन्दी भाग्ने प्रयाससमेत गरे।

‘हामी त्यहाँ पुग्दा कैदीबन्दीले बाढीबाट ज्यान बचाइदिनुस्, हामी भाग्दैनौँ भनिरहेका थिए। तर हामी सतर्क थियौँ। यत्तिकैमा दुई जना खेतैखेत जंगलतर्फ भाग्न थाले,’ यादवले भन्नुभयो, ‘मैले नै दौडिएर उनीहरूलाई दिउँसो करिब ११ बजेतिर पक्राउ गरी फर्काएर ल्याएँ।’

बिहान साढे ११ बजेसम्म बाढीको अवस्था सामान्य बनेपछि कैदीबन्दीलाई पुनः कारागारभित्र व्यवस्थापन गरिएको थियो। तर, बाढीको जोखिम भने अझै कायम रहेको सुरक्षाकर्मी बताउँछन्। बाढीले कमजोर बनाएको पूर्वाधार र त्रिशूली नदीको सम्भावित जोखिमका कारण कारागारमा अझै पनि उच्च सतर्कता अपनाइएको छ।

भदौ १२ गते कारागारमा रहेका ३२ महिला कैदीबन्दीलाई मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गरिएको थियो। हाल बालसुधार गृहका १३८ जनासहित कारागारमा ८८७ कैदीबन्दी रहेका छन्।

बाढीपछि सशस्त्र प्रहरी बलतर्फ थप ३० जनशक्ति परिचालन गरिएको छ। यससँगै कारागार सुरक्षामा सशस्त्र प्रहरीका ६२ जना र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी खटिएका छन्।

कारागारको एउटा ब्लक बाढीबाट प्रभावित भएपछि हाल कैदीबन्दी र बालसुधार गृहमा रहेका बालबालिकालाई एउटै युनिटभित्रका दुईवटा ब्लकमा राखिएको छ। सुरक्षाका दृष्टिले यो व्यवस्था जोखिमपूर्ण रहेकाले दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने सुरक्षाकर्मीको भनाइ छ।

बाढीबाट कारागारको प्रशासनिक भवनसमेत प्रभावित भएपछि त्यसलाई त्रिशूली नदी किनारबाट सुरक्षित स्थानमा सारिएको छ।

भदौ १० गतेको बाढीले कारागारमा ठूलो क्षति पुर्‍याए पनि समयमै आएको सूचनाका कारण सुरक्षाकर्मीले तत्काल उद्धार तथा व्यवस्थापन गर्न सके। जसका कारण सयौँ कैदीबन्दीको ज्यान जोगाउन सम्भव भएको हो।