काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीको उद्धार र राहतमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले सरकारले कामभन्दा ‘हिरोइजम’ देखाएको टिप्पणी गरे। प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जालमा स्टाटस राख्न र गृहमन्त्री सुरुङ उद्धारमा सीमित भएको उनको आरोप थियो।
उनले विपद्को समयमा सबै राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउनुपर्ने बताए। जलवायु परिवर्तनका कारण यस्ता विपद् बढ्दै गएकाले नेपालले विश्व समुदायसमक्ष जलवायु न्यायको विषय पनि उठाउनुपर्ने उनको भनाइ थियो।
बैठकले बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिँदै २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई प्रभावित रसुवा र नुवाकोट पुगेर अवस्था बुझ्न पनि सुझाव दिइएको छ।



















प्रतिक्रिया