अत्यधिक गर्मी र डढेलोले बढायो प्रदूषणको जोखिम


काठमाडौँ । विश्व मौसम संगठन (डब्लूएमओ) ले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ।

डब्लूएमओको वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’ अनुसार जलवायु परिवर्तनसँगै अत्यधिक गर्मी र डढेलो बढ्दा मानव स्वास्थ्य तथा वातावरणमा जोखिम थपिएको हो।

डढेलोको धुवाँमा रहेका सूक्ष्म कण फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्न सक्ने भएकाले स्वास्थ्यका लागि घातक मानिन्छन्। अत्यधिक गर्मीले सतह नजिकको ओजोन प्रदूषणसमेत बढाउन सक्छ।

डब्लूएमओले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि समन्वित तथा दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड दिएको छ।